तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामै पुगेर दियो सूचना विभागले प्रेस पास

जुम्ला । जुम्लाका ६२ जना पत्रकारले जुम्लामै प्रेस पास पाएका छन् । सूचना तथा प्रसारण विभागले दिने सरकारी प्रेस पास भने जुम्ली पत्रकार यस वर्ष जुम्लामै प्राप्त गरेका हुन् । 


नेपाल पत्रकार महासङ्घ जुम्लाको आयोजना र सूचना तथा प्रसारण विभागको सहयोगमा जुम्लामा सञ्चालित तीन दिने घुम्ती शिविर मार्फत जुम्लाका ६२ जना पत्रकारलाई प्रेस पास वितरण गरेको छ । 


जुम्लामा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित सञ्चालन भइरहेको कर्णाली पोस्ट दैनिक पत्रिकालाई पनि सूचना तथा प्रसारण विभागको टोलीले स्थायी रुपमा दर्ता गरेको छ । 

प्रेस पास ल्याउन, नवीकरण गर्न तथा पत्रपत्रिका र अनलाइन दर्ता नवीकरण गर्नका लागि जिल्लाबाट काठमान्डौ धाउनुपर्ने दुर्गमका पत्रकारहरूको समस्यालाई मध्यनजर गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको हो । 


प्रेस पास वितरणका साथै पत्रकारहरूका लागि तीन दिने क्षमता विकास तालिम समेत सञ्चालन गरिएको थियो । सूचना तथा प्रसारण विभागको आयोजनामा पत्रकारहरूलाई र  नेपाल पत्रकार महासङ्घ जुम्लाको आयोजना तथा सूचना विभागको सहयोगमा अपंगाता भएका व्यक्तिलाई तीन दिने तालिम सञ्चालन गरिएको हो । 

एकिकृत प्रेस पास घुम्ती शिविर समापन कार्यक्रममा बोल्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमालले दुर्गमका पत्रकारहरूको राहतका लागि जुम्लामा शिविर सञ्चालन गरिएको बताउनुभयो । 


सूचना विभागको टोली जुम्लामै आएर प्रेस पास वितरण गर्दा दुर्गमका पत्रकारहरूलाई ठुलो राहत भएको जुम्लाका पत्रकार गोल्डेन बुढाले बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्ली पत्रकारहरूको समस्या र महासङ्घको अनुरोधलाई स्वीकार गरेर जुम्लामै कार्यक्रम गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 


यसअघि विभागको टोलीले साबिक कर्णालीको दुर्गम जिल्ला हुम्लामा पनि प्रेस पास वितरणदेखि अनलाइन दर्ता शिविर सञ्चालन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button