सोमवार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन हुने

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामा बगरमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट सोमवार औपचारिक रुपमा विद्युत् उत्पादन हुने भएको छ ।
आयोजनामा रहेको विद्युत् गृहका ६ वटा युनिटहरू मध्य सोमवार १ वटा युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताउनुभयो । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने भए पनि तत्काल त्यति नै विद्युत् भने उत्पादन नहुने जनाइएको छ । सोमवार दिउँसो चार बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आईतवारसम्म ढल्केबर सवस्टेशनबाट लामा बगरको गोंगरमा रहेको २२० केभी लाइनको सवस्टेशन चार्ज गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो । सोमवारबाट गोंगरको सवस्टेशनबाट खिम्तिको २२०–१३२ केभी लाइनको सवस्टेशन र त्यहाँबाट ढल्केबरको २२०–१३२ केभी लाइनको सवस्टेशनमा विद्युत् चार्ज गरी राष्ट्रिय प्रणालीमा जोडिने प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।
आगामी दुई हप्तापछि भने गोंगरबाट सिधै ढल्केबर सवस्टेशनमा विद्युत् चार्ज गरिने पनि डाक्टर न्यौपानेले बताउनुभयो । अहिले नै सिधै ढल्केबर सवस्टेशनमा पुर्याउन सकिने तर सरकारको पोलिसी खिम्ति सवस्टेशन हुँदै ढल्केबर जोड्ने भएकोले अहिले सिधै ढल्केबर नपुर्याईएको आयोजनाले जनाएको छ ।
आर्थिक बर्ष २०६७–६८ मा निर्माण सुरु भएको आयोजनाको मुख्य सुरुङको डिजाइन परिवर्तन, लट २ ठेकेदारको कमजोर कार्य तथा २०७२ सालको विनाशकारी भूकम्प तथा कोरोना सङ्क्रमणका कारण आयोजना निर्माणमा दुई बर्ष भन्दा बढी ढिलाइ भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो ।
निर्माण अवधिको ब्याज बाहेक आयोजनाको संशोधित लागत हालसम्म ५२ अर्ब रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । ब्याजसहित आयोजनाको कूल लागत झन्डै ८३ अर्ब पुग्ने अनुमान गरिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्