तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको महाशिलामा विदुर र एकल पुरुषलाई भत्ता

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४० वर्ष उमेर पूरा गरेका विदुर तथा एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो । 


महाशिला गाउँपालिका विगत वर्षमा सुत्केरी स्याहार कार्यक्रम, किसानलाई प्रतिफलमा आधारित अनुदान, गाउँ फर्क प्याराप्यारी, एक घर एक टनेल, एक घर एक रोजगारी लगायतका कार्यक्रम बाट लोकप्रिय छ । यस वर्ष विदुर तथा एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याएपछि जिल्लाभर चर्चित बनेको छ । 


यस्तै अपाङ्गताको ‘ग’ र ‘घ’ वर्गमा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताउनुभयो । 

कतिपय विदुर तथा एकल पुरुषहरूलाई जीवन गुजारा चलाउन समस्या भएकाले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 
त्यस्ता पुरुषलाई नेपाल सरकारले भत्ता नदिँदा दैनिकी गुजार्न अप्ठ्यारो परेको तथा ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएकाहरूलाई पनि सम्बोधन नभएका कारण छैटौँ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको उचैले बताउनुभयो । 


गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले यसको कार्यान्वयनको लागि अब कार्यविधि निर्माण गरिने र विदुर तथा एकल पुरुषलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरिएको बताउनुभयो । महाशिलामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या करिब ४० जनाको हाराहारीमा रहेको पौडेलले बताउनुभयो ।  

गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गतामा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपाङ्गता भएका ‘क’ र आंशिक अपाङ्गता भएका ‘ख’ वर्गले सङ्घीय सरकारबाट नै अपाङ्गता भत्ता पाउँदै आएका छन् ।


गाउँपालिकामा ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भएकाहरूको सङ्ख्या करिब एक सय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button