वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका धेरै भाग जलमग्न

जनकपुरधाम । विगत केही दिनदेखि परेको लगातारको वर्षा तथा गए राति देखिको मुसल धारे वर्षाका कारणले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका अधिकांश भागहरू जलमग्न भएको छ ।
मूसलधारे वर्षाका कारणले पानीको उचित निकास नभएर उपमहानगरपालिकाको अधिकांश वडाहरूमा पानी जमेको छ । कतिपय कार्यालय तथा व्यक्तिको घरमा पनि वर्षाको पानी पसेको छ ।
जनकपुरधामको वडा नंं १, २, ३, ४, ७, ८, १३ वडाहरू वर्षाका पानीले जलमग्न भएको छ ।

नालाहरू जाम भएकाले पानीको निकास नभएका कारणले उपमहानगरपालिका क्षेत्रका कतिपय सरकारी कार्यालयहरू जलमग्न भएको छ ।
जनकपुरधामको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति सहितको कार्यालयहरूको परिसरमा पानी पसेको छ ।
केही कार्यालयको कोठामा पनि पानी जमेको छ । जनकपुरधामको मूल भागमा रहेको बाह्र बिघा रङ्गभूमि मैदानमा दुई फिटसम्म पानी जमेको छ ।

जनकपुरधामको वडा नंं ८ को रामानन्द चोकदेखि कुर्था जाने बाटोमा दुईदेखि अढाई फिटसम्म पानी जमेको छ ।
जनकपुरधामको सीता कुण्ड, विहार कुण्ड, वैकुण्ठ नगर, वाल्मीकि नगरको केही भागमा सडकमा नै दुई फिटसम्म पानी जमेको छ ।
जनकपुरधामको वडा नंं ७ र ८ मा खानेपानी तथा ढल निर्माण विभागद्वारा ढलको काम जारी रहेकाले हिँड्ने अवस्था रहेको छैन ।
यसै गरी धनुषा जिल्लाको दक्षिणी भेगमा पर्ने जटही, नगराइन, वहेडावेला, मुखियापट्टी, धनौजी सहितको क्षेत्रमा बाढी तथा वर्षाका कारणले जलमग्न भएको छ ।
मुसलधारे वर्षाका कारणले कतिपय ग्रामीण सडकहरू प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा वर्षाका कारणले भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भए पनि कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्