तपाईँ सुन्दै हुनुहुन्छः

अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

दुल्लु। अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् ।

दैलेखमा अधिकांश धान खेती गरिने जमिनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकाशेभरमा साउन अन्तिमसम्म रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता रहिआएको थियो । गत वर्ष दैलेखमा असार १५ गतेसम्म करिब ३५ प्रतिशत मात्र किसानले रोपाइँ गरे पनि यस वर्ष दोब्बर करिब ७० प्रतिशत रोपाइँ गरिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

समयमै मनसुन भित्रिएसँगै पानी निरन्तर पर्दा किसानले रोपाइँ छिट्टै गर्न भ्याएको उहाँको भनाइ छ । आकाशेभरमा बीउ राख्ने र साउन अन्तिममा हुने रोपाइँ पनि यस पटक पानी समयमै परेका कारण किसानले रोपाइँ गर्न सफल भएका उहाँले बताउनुभयो ।

जहिले पनि साउन २७ गते रोपिने खेत यस वर्ष असार १३ मै गर्न सफल भएको किसान वीरबहादुर गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो बाजेको पालादेखि त्यही दिन रोपाइँ गर्ने नियम र पालो थियो तर यस वर्ष असारमै रोपाइँ गर्न पाउँदा खुसी भएको छु ।” उहाँको मात्र होइन अहिले साउन अन्तिममा गरिने रोपाइँ असारमा गर्ने धेरै किसान छन् । दैलेखमा छ हजार ५१७ हेक्टर जमिनमा धान खेती गरिने पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button