तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा, सङ्कटा क्लब र नेक्सस स्कुलबिच सम्झौता

काठमाडौँ । फुटबल एकेडेमी सञ्चालनको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा), सङ्कटा क्लब र नेक्सस स्कुलबिच सम्झौता भएको छ ।
एन्फा कम्प्लेक्स सात दोबाटोमा मङ्गलवार एन्फा, ‘ए’ डिभिजन क्लब सङ्कटा र नेक्ससबिच त्रिपक्षीय सम्झौता भएको हो ।


एन्फाका उपाध्यक्ष तथा यूथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह, सङ्कटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै नेक्सस–सङ्कटा यूथ फुटबल एकेडेमी सञ्चालनमा आउने भएको छ ।


एकेडेमीमा सङ्कटा क्लबका ७ र नेक्सस स्कुलका ७ युवा खेलाडी रहने छन् । १४ खेलाडीले सङ्कटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछ भने नेक्सस स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडीमध्ये सङ्कटाले १४ खेलाडी उपलब्ध गराउने एन्फाले जनाएको छ ।


यससँगै सङ्कटा क्लब एकेडेमी सञ्चालन गर्ने विभाग बाहिरको पहिलो क्लब बनेको छ । यस अघि नै त्रिभुवन आर्मी क्लब, एपीएफ र पुलिस क्लबले एकेडेमी सञ्चालन गरिसकेको छ । 


एसियाली फुटबल महासङ्घ(एएफसी)को कार्यक्रम अनुसार सङ्कटाले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो । एएफसीले एएफसी लाइसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य सञ्चालन गर्नु पर्ने नियम बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button