तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारलाई बाख्रा वितरण

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरका विपन्न २० घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । महानगरको निर्वाहमुखी पशुपालन कार्यक्रम अन्तर्गत उनीहरूलाई शनिबार बोयर जातको ब्याड बोकासहित बाख्रा वितरण गरिएको हो ।


महानगरले करिब ७ लाख रुपैंयाको बाख्रा खरिद गरी देव विकास बाख्रापालक कृषक समूहका परिवारलाई प्रति परिवार दुई वटाका दरले ४० वटा बाख्रा वितरण गरेको हो । महानगरपालिकाका  उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यावसायिक प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका पशु सेवा विभागका प्रमुख मेघराज ढकालले सीमान्तकृत समुदायमा लक्षित निर्वाहमुखी पशुपालन कार्यक्रमले किसानहरूलाई व्यवसायीक बाख्रापालनतर्फ प्रेरित गर्न कार्यक्रम सफल हुने बताउनुभयो ।

 
सरकारले वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै ढकालले वितरण गरिएका बाख्रामा स्वास्थ्य समस्या देखिएमा महानगरले स्थापना गरेको पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गरिने बताउनुभयो ।


विभाग प्रमुख ढकालले निर्वाहमुखी कार्यक्रम अन्तर्गत बङ्गुर पालन र कुखुरा पालन कार्यक्रम छिट्टै सञ्चालन हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button