तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइयो

बीरगंज । लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज वीरगंजमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको संयोजनमा आज वीरगंजमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले  संयुक्त राष्ट्र सङ्घको विश्व लागु औषध प्रतिवेदन २०२१ ले वर्षेनी लागु औषध प्रयोगकर्ता बढ्दै गएको देखाएको र नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागु औषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । 

प्रहरी उपरीक्षक पाण्डेले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै विशेष गरी अवैध लागु औषध गाँजा चरेसको खेती नियन्त्रण गर्न पर्सा प्रहरी सफल भए पनि सीमावर्ती जिल्लाहरूबाट यसको ओसारपसार कायमै रहेकोमा चिन्ता प्रकट गर्नुभयो । 

उहाँले सीमावर्ती भारतीय बजारमा अवैध लागु औषधको खुलेआम विक्री वितरण हुँदा खुला सीमाको कारण नियन्त्रणमा कठिनाइ भई रहेको बताउनुभयो । 

कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंहले युवा वर्गमा स्वभाव, बोल्ने शैली, दैनिक आचरण परिवर्तन हुँदै जानु, शरीर कमजोर बन्दै जानु जस्ता लक्षणहरू देखिएमा लागु औषधको दुव्र्यवसनमा फसेको हुनसक्ने हुँदा यस तर्फ अभिभावक सचेत बन्नु पर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र कुम्हालटोलका संरक्षक प्रदीप चौरसियाले राज्य, समाज, प्रहरी प्रशासन, जनप्रतिनिधि सबैको सामूहिक प्रयासबाट मात्रै लागु औषध नियन्त्रण हुने कुरामा जोड दिनुभयो । 

सो अवसरमा लागु औषधको दुर्व्यसनीबाट करोडौँ सम्पत्ति गुमाई हाल दुर्व्यसन मुक्त भई समाजका पुनर्स्थापित वरुण झाले दुर्व्यसनमा फसेका युवाहरूलाई समाजले हेर्ने दृष्टिकोण र व्यवहार ठिक नहुँदा उनीहरू कुलत छोडेर समाजमा फर्किन गाह्रो भएको बताउनुभयो ।

उहाँले दुर्व्यसनीलाई रोगी र बिरामीको रूपमा लिएर समाजमा स्थान दिएमा छिट्टै कुलतबाट मुक्ति पाउने दाबी गर्नुभयो । 

कार्यक्रममा सानो पाइलाका राजकुमार तामाङले सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने लागु औषधसँगै घरेलु मदिराको दुर्व्यसनमा फसेर जीवन बरबाद बनाउँदै गएकाहरूलाई आफूहरूले पुनः समाजमा पुनर्स्थापित गरेको दाबी गर्नुभयो । 

सो अवसरमा रेडियो नेपालका पर्सास्थित सम्वाददाता ध्रुव अधिकारीले पर्सामा चालु आर्थिक वर्षको ११ महिनामा अवैध लागु औषधका घटनामा १ सय ११ वटा घटनामा १ सय ७२ जना पक्राउ परेको, ६ सय २४ किलो गाँजा बरामद भएको, १ किलो अफिम, ४२ ग्राम हिरोइन, ७ हजार पिस फेनारगन, डाईजिपाम, नुरफिन लगायतका ट्याबलेट पर्सा प्रहरीले बरामद गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा पर्सेली सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, लागु औषध दुर्व्यसनमा फसेर समाजमा पुनर्स्थापित भएका व्यक्तिहरू, स्थानीय समाजसेवी, बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button