तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको बाढीमा हराएका दुई जनाको शव फेला

बाढीले डुबेको रेडियो मेलम्चीको भवन । तस्बिर : देवराज सुवेदी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा मङ्गलवार बेलुकीदेखि चलेको बाढी र पहिरोमा हराइरहेका झण्डै ५० मध्ये दुई जनाको शव फेला परेको छ।  एक जनाको शव भीमटार र अर्का व्यक्तिको शव काभ्रेको मण्डनमा भेटिएको हो। 

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलका अनुसार अहिलेसम्म थप मानवीय क्षति भएको थाहा लागेको छैन। मेलम्ची नदीमा पानीको सतह अझै घटेको छैन  बहाव बस्तीमा पस्ने जोखिम अझै रहेको उहाँले बताउनुभयो । 

​बाढी र पहिरोग्रस्त क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न जानसक्ने स्थिति छैन। बाढी र पहिरोको चपेटामा फसेकालाई उद्धार गर्न तथा पीडितकहाँ राहत पुर्‍याउन सुरक्षा निकाय र निजी वायुसेवा कम्पनीसँग रहेका हेलिकोप्टर परिचालन गरिएको छ ।

मेलम्ची ड्यामसाइट र हेलम्बुको चनौटे आसपासमा करिब ५० जनाभन्दा बढी बेपत्ता भएको सुन्नमा आएपनि त्यसबारे बुझ्ने प्रयास भइरहेको ​जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो । बाढी नघट्दा मेलम्ची बजार अहिले पनि पूरै डुबानमा छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button