तपाईँ सुन्दै हुनुहुन्छः

लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

भद्रपुर, झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमय मृत्यु भएको छ ।
दमक–५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको बुधवार साँझ रहस्यमय मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ ।
प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । उनको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको जनाएको छ । उनलाई बुधवार बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।
उनको मोबाइल नउठेपछि साथीहरू कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । साथीहरूले नै ६ देखि साढे ६ बजेको समयमा उनलाई अस्पताल पुर्‍याएका र तत्कालै उनको लाइफलाइन अस्पतालमा नै मृत्यु भएको देखिएको डिएसपी कार्कीले बताउनुभयो ।
उनका अभिभावकहरू राती ११ बजे दमक आइपुगेका बताइएको छ । आफन्तहरू उनको मृत्यु रहस्यमयी भएको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा छन् । प्रहरीले भने तत्काल उनको मृत्युको कारण थाहा पाउन पोस्टमार्टमलाई प्राथमिकता दिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button