तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा चेपाङको पीडाः अपाङ्ग बुबासहित २२ जनाको परिवार

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङ ओछ्यान परेको २ वर्ष बित्यो । सहाराको रूपमा रहेकी एक मात्र छोरी रामकुमारी चेपाङको आश्रयमा उनी बस्दै आएका छन् ।

छोरी रामकुमारीको अवस्था पनि दयनीय नै छ । ७० वर्षीय बुबालाई स्याहार गर्दै आएकी रामकुमारीले भनिन् – बिरामी र अशक्त बुबाको हेरचाह एकातिर छ भने अर्कोतर्फ २२ जनाको ठूलो परिवार आफै समस्यामा रहेको उनी बताउँछिन् ।

८ जना दाजुभाइ मध्ये घरकी साइँली बुहारी रामकुमारीको ठूलो परिवारमा न त घरमा खाने अन्न छ, न त बस्ने ठाउँ नै । बिरामी बुबासहित २२ जनाको परिवार कोही पालीमा, कोही चोटामा त कोही अगेनाको छेउमै ओछ्यान लगाएर सुत्नुपर्दछ, उनले भनिन् ।

घरमा अगाडि पिँढीमा अशक्त बुबालाई सुताइ राखिएको थियो भने साना बच्चा झोलुङ्गामा हल्लिरहेकी थिइन् । ठूलो परिवार काम के गर्ने भन्ने रनभुल्लमा परिवारका सदस्यहरू देखिन्थे ।

लकडाउन हुनुभन्दा अगाडि भने ज्याला मजदुरी गर्ने परिवारका सदस्य पनि काम नपाउँदा घरमै बस्न बाध्य छन् । बिहान बेलुकाको छाक टार्ने समस्या एकातिर छ भने अर्कोतर्फ बिरामी बुबाको उपचार कसरी गर्ने भन्ने पनि आफूलाई पिरलो परेको रामकुमारी बताउँछिन् ।

पाखो बारीको अन्नले ३ महिना पनि मुस्किलले पुग्ने यो परिवारले गिट्ठा भ्याकुर पनि भरी पेट खान पाएका छैनन् । ‘कुनै छाक छिमेक, गाउँघरबाट पैँचो मागेर खाने गरेका छौँ भने कहिले गिट्ठा भ्याकुर खादै आएका छौँ’ उनले भनिन् । परिवार ठूलो हुनाले अन्न त कता हो कता गिट्ठा भ्याकुर पनि पेटभरि खाने अवस्था छैन, रामकुमारीका जेठाजु आकाश चेपाङले भने ।

सोही गाउँकी विष्णुमाया चेपाङको परिवार पनि १३ जनाको छ । ४ छोरा र ३ छोरी सहित नातिनातिना घरभरि छन् । विष्णुमाया घरको ढोकाको छेउमा गिट्ठा काट्दै थिइन् भने उनकी ३ वर्षको नातिनी घरको चोटाबाट हजुरआमाले काटेको गिट्ठाको थाल हेर्दै थिइन् ।

उनको घरभित्र पनि अन्नको दाना केही पनि देख्न सकिँदैनथ्यो । कहिले पाइयो भने गाउँघरबाट कोदो मकै ल्याएर खान्छौँ नभए गिट्ठाको भरमा परिवार पाल्दै आएको विष्णुमायाले बताइन् । उनको परिवार पनि ज्याला मजदुरीले नै परिवार धान्दै आएको थियो ।

सो लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँको पनि अवस्था उस्तै छ । सो गाउँका ६८ घरपरिवारमा अहिले अनिकाल लागेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल चेपाङले जानकारी दिए ।

कालिका नगरपालिकाकै वडा नं. ९ को राजवन, सम्फर्याङ, चाइनाराङ, भ्युरान लगायतका गाउँमा पनि खाद्यान्न अनिकाल लागेको स्थानीय लक्ष्मी चेपाङले जानकारी दिइन् । स्थानीय ३५ घरपरिवार दैनिक गुजारा टार्न पनि समस्यामा रहेको उनले बताइन् ।

कालिका नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरुङले चेपाङ गाउँमा कोरोना महामारीले गर्दा बिहान बेलुका छाक टार्न समेत समस्या भएको बताउँदै ज्याला मजदुरी गर्ने गाउँलेहरूले काम नपाउँदा गिट्ठा भ्याकुरको भरमा परिवार पाल्नुपरेको बताए ।

अभियन्ता तथा पत्रकार केपी किरण शर्माले सो गाउँमा चेपाङको बिचल्ली भएको बताउँदै देश विदेशमा हुने सहयोगी दाताहरूलाई उनीहरूको लागि सहयोग गरिदिन अनुरोध समेत गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button