तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा कोरोना महामारी नियन्त्रणका लागि थप तयारी आवश्यक

काठमाडौँ । रामेछाप-काठमाडौँ पत्रकार समाजले कोरोना महामारीले रामेछापमा पारेको प्रभाव र रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासबारे अन्तरक्रियाका कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले रामेछापमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढ्दै गए पनि सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरू पर्याप्त नभएको औँल्याएका छन् ।
सहभागीहरूले जिल्लामा अझै पनि अक्सिजन प्लान्ट निर्माण नहुँदा समस्या पैदा हुनसक्ने भन्दै जतिसक्दो चाँडो निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।
साथै ग्रामीण भेगहरूमा कोरोना सङ्क्रमणको अवस्था भयावह हुँदै जानु, आम नागरिकले स्वास्थ्यका मापदण्ड पालना नगर्नु जस्ता कारणले निकट भविष्यमा ठुलो समस्या आउन सक्ने भन्दै पूर्व तयारीमा जुट्न सम्बद्ध निकायलाई सहभागीहरूले आग्रह गरेका छन् ।
कार्यक्रमका वक्ता, विघटित प्रतिनिधिसभा सदस्य एवम् पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले जिल्लामा अक्सिजन प्लान्टका लागि पहल भइरहेको र पीसीआर मेसिनका लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।
उहाँले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको र ‘फास्ट ट्र्याक’ मार्फत पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
निवर्तमान सङ्घीय सांसद श्रेष्ठले भन्नुभयो, ‘पोहोर नै बजेट छुट्याउन पाएको भए अहिले मेशिन आइसकेर पनि जिल्लामै सञ्चालन भइसकेको हुन्थ्यो, त्यति बेला बजेट नछुट्याउनु कमजोरी भयो भन्ने लागेको छ । २÷२ पटक माननीय भएर पनि जिल्लाको लागि आवश्यक हुँदा एउटा पीसीआर मेशिन पनि राख्न नसक्दा दुःखी छु ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लामा हाल कोरोनाका कारण डरलाग्दो अवस्था नरहेको भन्नुहुँदै हाल जारी निषेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको बताउनु भयो ।
उहाँले जिल्लामा आवश्यकता अनुसार अक्सिजन र सिलिण्डर ल्याइरहेको जानकारी दिनुहुँदै जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसँग समन्वय गरेर कोरोना नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी नवराज ढुङ्गानाले जिल्लामा जारी निषेधाज्ञाको पालनामा प्रहरीले निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराउनुहुँदै हाल जिल्लामा अक्सिजन सिलिण्डरको अभाव नरहेको बताउनुभयो ।
उहाँले जिल्लामा अक्सिजन सिलिन्डर खोजी अभियानमा सबैले सहयोग गरेको बताउनु हुँदै कोरोना नियन्त्रणमा प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका सभापति बद्री नयाँघरेले सदरमुकाममा कोरोना महामारीको असर सामान्य भए पनि ग्रामीण भेगमा सङ्क्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
उहाँले आम नागरिकहरूमा अझै पनि कोरोना परीक्षणको पहुँच पुग्न नसकेको भन्नुहुँदै कोरोना सङ्क्रमण भएर पनि नजँचाएरै आजसम्म १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
सभापति नयाँघरेले ग्रामीण भेगमा कोरोना नियन्त्रणका लागि स्थानीय तह तथा वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहेको औँल्याउनु भयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हिमाल ढुङ्गेलले कोरोना महामारीको दोस्रो लहर आइसक्दा र तेस्रो लहरसमेत आउने जोखिम बढी सकेको अवस्थामा पनि रामेछापमा कोरोना नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माण र तयारी नभएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
उहाँले जिल्लामा थुप्रै विकास भएको भनी विभिन्न सामाजिक सञ्जालहरूमा फैलाइएको हल्ला जस्तो विकास हुन नसकेको बताउनुहुँदै अझै पनि आम नागरिकको कन्ट्याक्ट ट्रेसिङसमेत हुन नसकेको बताउनुभयो ।
पूर्व सभापति ढुङ्गेलले जिल्लामा सङ्कलित केही स्वाब परीक्षणका लागि विभिन्न छिमेकी जिल्ला धाउनु पर्ने र त्यसको रिपोर्टसमेत समयमै नआउनु दुःखद भएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी निरोज थापा, अमृत सुनुवार, हरिहर कार्की, रविन्द्रप्रताप, सन्तोष पौडेललगायतले जिल्लामा जतिसक्दो चाँडो कोरोनाको महामारी नियन्त्रणका लागि पहलकदमी लिन सम्बद्ध पक्षहरूसँग आग्रह गर्नु भएको थियो ।
रामेछाप काठमाडौँ पत्रकार समाजका अध्यक्ष प्रेम गौतमले कोरोना महामारीको वर्तमान परिस्थितिमा जिल्लामा भएका प्रयासहरूलाई विभिन्न सञ्चारमाध्यममार्फत उजागर गर्ने र आवश्यकता औँल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सदस्यहरू माधव पौडेल, ज्ञानप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीसहित रामेछापबाट पत्रकारिता गरिरहनुभएका र रामेछाप घर भई काठमाडौँ बसेर पत्रकारिता गरिरहनु भएका झन्डै ५० जनाको सहभागिता रहेको थियो ।
रामेछाप जिल्ला घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था  रामेछाप–काठमाडौँ पत्रकार समाजले जिल्लाका विभिन्न विषयबस्तुहरु माथि रहेर कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
यही हप्ताभित्र पुनः प्रदेश प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबिच कोरोना महामारी नियन्त्रण र प्रयासका बारेमा पुनः अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको रामेछाप काठमाडौँ पत्रकार समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button