मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौँ : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरू सञ्चार माध्यममा आएपछि कृषि मन्त्री अर्यालले आज (शुक्रवार) कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरीक्षण गर्नुभएको थियो ।
कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताउनुभयो । तर कोभिड(१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरूमा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउने बित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताउनुभयो ।
यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यले र प्रमाणले खेती बाली लगानसम्मका लागि कुनै समस्या छैन, मन्त्री अर्यालले भन्नुभयो, मलको वितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौ ।

कोभिडका कारण वितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्ने गरी हामी अगाडि बढिसक्यौँ अहिले त्यो समस्या पनि समाधान भइसक्यो । कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा वितरणमा समस्या देखिएको गुनासो र टिप्पणी आए पनि अहिले त्यसको समाधान भइसकेको उहाँको भनाई थियो ।यसको विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको उहाँले बताउनुभयो ।
आफू मन्त्रालयको नेतृत्वमा आए देखी नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको वितरण गर्दा दैनिक आपूर्ति र वितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिनुभयो । कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखीकन मलको आपूर्तिमा ध्यान दिन उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्