सांसद तामाङको पहलमा मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना गरिने
सिन्धुपाल्चोक । सांसद शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्टका लागि ३३ लाख रकम विनियोजन गर्नुभएको छ। स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको ४३ लाख २० हजार बजेटमध्ये सम्झौता हुन बाँकी ३३ लाख २० हजार अक्सिजन प्लान्ट निर्माणका लागि छुट्याउनु भएको हो। जिल्लामा कोरोना महामारी फैलिरहेको र कोरोना उपचारमा अक्सिजनको अभाव भइरहेको कारण मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना गर्न लागेको एमाले कार्यालय सचिव तामाङले बताउनुभयो ।
बाँकी बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको सांसद तामाङले जानकारी दिनुभयो । यस्तै जिल्ला समन्वय समितिको पहलमा शनिबार सिन्धुपाल्चोकले स्वास्थ्य सामाग्री पाउने भएको छ ।
जिल्लामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सामाग्री समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले उद्योगी तथा व्यवसायीहरूसँग सहयोगको लागि अपिल गर्नुभएको थियो ।
यही जेठ २ गते बसेको बैठकमा जिसस प्रमुख तामाङले जिल्लामा स्वास्थ्यका सामाग्री सहयोग गरिदिन व्यवसायीहरूसँग अपिल गर्नुभएको थियो ।
नेपालकै प्रसिद्ध शिल्क ट्रान्सपोर्ट कम्पनीले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार शनिबार सामग्री वितरण गर्न लागिएको शिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश लामाले बताउनुभयो ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, पूर्व मन्त्रीद्धय शेर बहादुर तामाङ, मोहन बहादुर बस्नेतको उपस्थितिमा ३ लाख सर्जिकल मास्क, १ सय थान अक्सिजन सिलिण्डर, ४० हजार पिस एन ९५ मास्क, स्यानिटाइजर १ हजार लिटर , चस्मा, पिपिई सेट , पञ्जा लगायतको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको लामाले जानकारी दिनुभयो ।
समन्वय समितिका प्रमुख तामाङले प्राप्त भएको स्वास्थ्य सामग्री सबै पालिकाको वडा वडामा पुग्नेगरि जोखिमको अवस्था हेरि वितरण गरिने बताउनुभयो ।
नयाँ भेरिएण्टको कोरोना भित्रिएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफु सक्रिय भएर लागि रहेको प्रमुख तामाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्