तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज मेडिकल कलेजमा नयाँ बिरामी भर्ना बन्द

 बाँके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरले कोरोनाको नयाँ बिरामी भर्ना बन्द गरेको जनाएको छ ।
अस्पतालमा अक्सिजन अभाव भएपछि कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रबन्ध सञ्चालक डाक्टर सुरेश कुमार कनोडियाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो बताएका हुन ।
‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेको थियो । तर, सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङक सकिएको र भारतबाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहान्छौं ।’ मेडिकल कलेजद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय अक्सिजन उत्पादन गर्ने उद्योगले माग अनुसारको उत्पादन गर्न नसक्नु, भारतबाट आयात हुने लिक्विड अक्सिजन ट्याङ्कको आयात रोकिनु, सिलिन्डरको अभाव हुनु लगायतका कारणले तयार रहेको  ३०० बेड सहितको डेडिकेटेड अस्पताल पनि सञ्चालन गर्न नसकी १३५ बेड क्षमताको सञ्चालन गर्न बाध्य भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रबन्ध सञ्चालक डाक्टर कनोडियाको भनाइ छ ।
अस्पतालमा अहिले सम्म ३०३ जना बिरामी भर्ना भइसकेकोमा १२६ जना डिस्चार्ज भइसकेको १३३ जना उपचाररत रहेको र  ४४ जना संक्रमित को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अहिलेसम्म अस्पतालका एक सय ४८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संक्रमित भइसकेको अस्पतालले जनाएको छ ।
अक्सिजन अभावलगायतका प्राविधिक समस्याले कोरोना डेडिकेटेड अस्पताल सञ्चालनमा समस्या आएको जानकारी अस्पतालले जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतलाई जानकारी समेत गराइसकेको उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button