होम आइसोलेसनमा बसेकालाई उप–महानगरले किट उपलब्ध गराउने
बाँके । नेपालगन्ज उप–महानगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितहरूलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।नगर प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा मङ्गलवार बसेको कोभिड व्यवस्थापन अनुगमन समितिको बैठकले नगर क्षेत्रभित्र होम आइसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको टोली घरमै पुगेर हरेक सङ्क्रमितलाई किट उपलब्ध गराउने नगर उप–प्रमुख उमा थापामगरले जानकारी दिनुभयो । पिसिआर परीक्षणको तथ्याङ्क अनुसार नेपालगन्जमा हाल दुई हजार ४ सय जना होम आइसोलेसनमा बसेका छन् ।
बैठकमा होम आइसोलेसन बसेकाहरूलाई नियमित परामर्श दिने र उनीहरूको समस्यामा केन्द्रित हुनेबारे छलफल भएको थियो । बैठकमा वडा स्तरीय फोकल पर्सनहरुले रिपोर्टिङ गरेका थिए ।
स्वास्थ्यकर्मीहरूको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्