तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

डोटी। राष्ट्रिय वाणिज्य बैङ्क डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैङ्कको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैङ्कमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैङ्किङ सेवा बन्द हुनेछन् ।” सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैङ्कले खुलाएको छैन ।

बैङ्कले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरू भत्ता लिनका लागि बैङ्कमा आउन थालेका कारण बैङ्कको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरू मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता लिने सेवाग्राहीको भीड लाग्ने गरेको छ, बैङ्कले सेवा बन्द गरेपछि समस्या हुने भएको छ ।” सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपोर्टका आधारमा आफ्ना सेवाहरू निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैङ्क डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाध्यताले हामीले केही दिनका लागि सेवा बन्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको समस्याका लागि हामी क्षमाप्रार्थी छौँ ।”

बैङ्कले अचानक सेवा बन्दको सूचना निकालेर सबै सेवा बन्द गरेपछि सिलगढीमा रहेको बैङ्कको शाखामा सेवाग्राहीको भीड लागेको दिपायल पिपल्लाका स्थानीयवासी प्रकाशबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा बन्द गरेको बैङ्कले समयमै जानकारी दिएन, यहाँ सेवाग्राहीको भीड लागेको छ, उनीहरूको समस्या कसले बुझ्ने ।” बैङ्कमा सुनको ब्याजदेखि अन्य कारोबारका ग्राहकहरूको पनि भीड बढेको स्थानीयवासीहरु बताउँछन् । उता राष्ट्रिय वाणिज्य बैङ्क दिपायल शाखाले भने आफ्नो सेवा पुनः सञ्चालन राखेको शाखा प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो शाखामा पनि केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ, उहाँहरू आइसोलेसनमा हुनुहुन्छ, सेवाग्राहीको चापलाई ध्यानमा राखेर हामीले सेवा पुनः सञ्चालन गरेका छौँ, बन्द भएको छैन ।”

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले आज रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि भत्तादेखि खातामा भएको आफ्नो रकम झिक्न आउने सेवाग्राहीका कारण बैङ्कमा भीड बढेको बताइएको छ । जिल्लामा अहिलेसम्म कम्तीमा पनि १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमणका कारण दुई हप्ताको अवधिमा जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँका स्थानीयवासी मा त्रास फैलिएको बताइएको छ । जिल्लामा दुई नगरपालिका तथा सात वटा पालिकासहित नौ वटा स्थानीय तह भए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कसैले पनि पहल नगरेको स्थानीयवासीको आरोप छ । जिल्लामा अहिलेसम्म भारतबाट आएका नागरिक राख्नका लागि क्वारेनटिन तथा सङ्क्रमण भएका व्यक्ति राख्नका लागि आइसोलेसन वार्डसमेत निर्माण गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button