तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक

उदयपुर । उदयपुरमा सार्वजनिक तथा निजी गाडी सञ्चालनमा रोक लागेपछि सडकहरू सुनसान भएका छन् ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यातायात बन्द र बजार पसल बिहान १० देखि दिउसो ३ः०० बजेसम्म मात्र खुल्ने निर्णय भएपछि सडक सुनसान भएका हुन् ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले आइतबारदेखि लागु गरेको सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोकले यस्तो अवस्था सिर्जना भएको हो ।
मान्छे आउजाउ गर्न, यातायात र भिडभाड हुने बजार पसल नै भएकाले आउँदो २५ गतेसम्म यातायात बन्द र बजार १०–३ बजे गरिएको डिसिसीएमसीले जनाएको छ ।
डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइका अनुसार जिल्लामा पछिल्लो समय संक्रमित एक्कासि बढेपछि थप खतरा हुन नदिन यस्तो निर्णय गर्नु परेको हो ।
बिहानैदेखि गाईघाट बजार सुनसान हुँदै आएको छ । गाईघाटसँगै कटारी, बेल्टार, रामपुर र मुर्कुची बजारमा यातायात चलेका छैनन् भने पसल बिहान १०ः०० बजे मात्र खुलेका छन् ।
यो निर्णयले अधिक व्यस्त हुने मदन भण्डारी लोक मार्ग पनि ठप्प भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको वैकल्पिक सडक धरानदेखि चतारा–बेलटार–गाईघाट–कटारी छिचोल्दै सिन्धुलीबाट हेटौँडा जोडिने मदन भण्डारी लोक मार्गमा गाडी चल्न रोकिएका छन् ।
डिसिसिएसमीले ३ पाङ्ग्रेभन्दा माथिका सबै सवारीमा रोक लगाएकोले बजारमा सवारी सुनसान छ ।
यात्रुवाहक बस र मालवाहक ट्रकदेखि ट्याक्टर, जीप, कार, भ्यान र अटो रिक्सासम्म बन्द गरिएको र एक जना मात्र सवार भएर मोटरसाइकल चल्न दिइएको छ ।
एम्बुलेन्स, प्रेस, खाद्यान्न, दूधजन्य तथा खाद्यान्न बोकेका र शबबाहनलाई निश्चित सङ्ख्या तोकेर हिड्डुल गर्न दिइएको छ ।
बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई परिचय पत्र बोकेर सुरक्षा मापदण्डभित्र रही सवारीमा आउजाउ गर्न दिइएको छ ।
यसअघि लाग्दै आएका साप्ताहिक हाटबजार पनि पूर्णतः बन्द भकाएछन् ।
बन्दको अवधिमा खाद्यान्न, औषधि ओसारपसार र आपूर्तिमा अवरोध आउन दिइने छैन ।
बन्दको अवस्थामा हुने  कालोबजारी र अवैधानिक कार्यको नियमित अनुगमन गरिनेछ । कसैले बन्दको अवज्ञा गरे वा कालोबजारी गरेको पाइए कानुन बमोजिम कारबाही गरिने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button