तपाईँ सुन्दै हुनुहुन्छः

 रेडियो नेपालद्वारा सञ्चालित गीत सङ्गीत प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर–४ स्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राममा रेडियो नेपालद्वारा सञ्चालित गीत सङ्गीत प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
माघ–१५ गते देखी  तीन महिनासम्म सञ्चालित  प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ सहित विभिन्न जिल्लाका ७० जना प्रशिक्षार्थीको सहभागिता थियो । रेडियो नेपालले सङ्घीयताको मर्म अनुसार स्थानीय स्तरमा रहेका प्रतिभालाई गीत सङ्गीतको क्षेत्रमा अगाडि बढ्न सहज होस भन्ने उद्देश्यले  प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुख सुरेशप्रसाद बास्तोला तथा गायन प्रशिक्षक हरिशकंर चौधरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
गायन, हार्मोनियम, तबला तथा बाँसुरी बिदामा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो । रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख एवं वरिष्ठ सङ्गीतकार टिकाप्रसाद भण्डारी, गायन प्रशिक्षक मनराज नकर्मी, हरिशकंर चौधरी, गितार तथा बाँसुरी वादक दिपक सुनाम र  डा निरञ्जन भण्डारीले सहभागीलाई प्रशिक्षण दिनु भएको कार्यक्रम संयोजक रामा मण्डलले बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुख बास्तोलाले सबै जाती समुदायलाई समेटेर गीत सङ्गीतको क्षेत्रमा रेडियो नेपालले निरन्तर  सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले  लुकेर रहेका प्रतिभालाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागी प्रशिक्षार्थी योगेन्द्र साह तथा सरस्वती खडकाले प्रशिक्षण कार्यक्रमले  गीत सङ्गीतको क्षेत्रमा अगाडि बढ्न सहज भएको भन्दै रेडियो नेपाल परिवारलाई धन्यवाद दिनुभयो । उहाहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो  ।
कार्यक्रममा अर्जुन यादवले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा धरान प्रसारण केन्द्रका बलराम चौधरी तथा मनोज गुप्ताको समेत सहभागिता थियो ।
पुर्व क्षेत्रमा रहेका गीत, सङ्गीत, कला, साहित्य, संस्कृतिको जगेर्ना गर्दै पत्रकारिता क्षेत्रको विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले सञ्चारग्रामको स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button