हिमाल सफा गर्दा मानव अवशेष तथा 9N-ACR हेलिकप्टरको अवशेष फेला

काठमाडौँ । “सफा हिमाल अभियान २०२१” अन्तर्गत फोहोर सङ्कलन गर्ने क्रममा मिति बिहीबार धवलागिरि बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउन्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ कि.मि. इटाली बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको नेपाली सेनाले जनाएको छ ।

मृतकहरूको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानबिन भइरहेको र हेलिकप्टरको सम्बन्धमा Air Dynasty को सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । साथै, उक्त मानव अवशेषहरू व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरूसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको सेनाले बताएको छ ।
सगरमाथा सहित ६ वटा हिमालहरूको सफाई गर्ने पवित्र उद्देश्यका साथ सञ्चालित उक्त अभियानमा खटिएका टोलीहरूले स्थानीय सरकार, सम्बद्ध सङ्घसंस्था एवं स्थानीयबासीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर सङ्कलन कार्य गरिरहेका छन् । मिति २०७८ वैशाख १२ गतेबाट फोहोर सङ्कलन शुरू गरिएकोमा १६ गते बिहीबारसम्म Bio-degradable (सड्ने र कुहिने) ३५५ के.जी. र Non-Bio-degradable ४,७९९ के.जी. गरी जम्मा ५,१५४ के.जी. फोहोर सङ्कलन भएको सेनाले बताएको छ ।









प्रतिक्रिया राख्नुहोस्