प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द
ओखलढुङ्गा । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना संक्रमण पुष्टि भएपछि करदाता सेवा कार्यालय ओखलढुङ्गाको सेवा अर्को सूचना जारी नहुँदा सम्मका लागि सेवा बन्द गरिएको छ ।
कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई शुक्रवार गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्यमा सामान्य समस्या सहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
रिजाल वैशाख १० गते विवाहका लागि चितवन पुगेर काठमाडौँ हुँदै १५ वैशाखमा जिल्ला फर्कनु भएको थियो । कोभिड संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको करदाता सेवा कार्यालय ओखलढुङ्गाका प्रमुख कौशलेन्द्र रिजालले बताउनुभयो । आफूलाई संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदा सम्मका लागि कार्यालयको सेवा बन्द गरिएको रिजालले बताउनुभयो ।
‘यात्राका क्रममा कुन बेला संक्रमण भयो पत्तो पाइएन, अहिले म होम आइसोलेसनमा कोठामै बसेको छु । स्वास्थ्य अवस्था पनि सामान्य छ ।’ रिजालले भन्नुभयो, ‘म यहीँ रहेकाले अरूलाई जोखिम नहोस् भनेर सतर्कता अपनाउन भनेको छु । अर्को सूचना नदिँदा सम्म कार्यालयको सेवा बन्द हुनेछ ।’ रिजालसँगै रहेका अन्य दुई जनाको समेत एन्टिजेन परीक्षण गरिएकोमा अन्यको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
ओखलढुङ्गामा यसअघि सक्रिय संक्रमित थिएनन् ।
खिजीदेम्बाका एक पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि राजधानी लगेर परीक्षण गर्दा कोरोना देखिएको थियो ।
जिल्लामा परीक्षण नै नभएकाले संक्रमित भए/नभएको यकिन छैन । तर राजधानी र तराईका जिल्लाबाट हजारौँ मानिस गाउँ फर्किएकाले सङ्क्रमणको जोखिम बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्