सल्यानमा बालविवाह गरेको भन्दै बेहुला सहिततीन जना पक्राउ

सल्यान । जिल्लामा ११ वर्षीय बालिकालाई बाल विवाह गरेको आरोपमा १४ वर्षीय किशोर सहिततीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका १४ वर्षीय बेहुला किशोर, बेहुलाका बुवा र भाउजूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वैशाख १३ गते राती खाना खाएर सुती सकेको अवस्थामा स्थानीय किशोरले आफ्नो छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै गएर छोरीलाई फिर्ता ल्याएर प्रहरीकोमा पुगेका थिए ।
कक्षा ६मा पढ्दै गर्दा छोरीलाई भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै बालबालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको बुझिएको छ । यस घटनामा बाल विवाहसँगै बलात्कार समेत भएको भन्दै जाहेरी आएकाले सोही अनुसार मुद्दा प्रक्रिया अगाडी बढाउने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्