एफसी चितवन र बुटवल लुम्बिनीको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनीसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।
दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेपछि चितवन जितबाट वञ्चित बन्यो । चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गर्दा बुटवल लुम्बिनीका आशिष लामा र लक्ष्मण रुचालले बराबरी गोल फर्काएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको खेलमा बुटवल लुम्बिनीका लक्ष्मण रुचाल इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । एफसी चितवनका जर्जप्रिन्स कार्की खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।
चितवनले लगातार दोस्रो बराबरीको नतिजा निकालेको हो । चितवनले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
बुटवल लुम्बिनीको यो पहिलो बराबरी हो । यसअघि बुटवल लुम्बिनीले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । बराबरीपछि चितवनको दुई खेलबाट २ अङ्क पुगेको छ । बुटवल लुम्बिनीको २ खेलबाट ४ अङ्क पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्