राम लीला तालिम केन्द्रमा ५० शैयाको अक्सिजन वार्ड तयार
बाँके । बाँकेमा नेपालगन्ज उप–महानगरपालिकाले रामलीला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।कार्यवाहक नगरप्रमुख उमा थापा मगरका अनुसार बिहीबारदेखि कोभिडका बिरामीहरूको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यवाहक नगरप्रमुख थापा मगरले जानकारी दिनुभयो ।
बुधवार कार्यवाहक नगरप्रमुख उमा थापामगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईँले आइसोलेसन वार्डको अनुगमन गर्नुभएको छ ।
अनुगमनपछि डा. थापाले आइसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा बिरामीको चाप कम गर्न समेत सहज हुने बताउनुभयो । भेरी अस्पताल र उप–महानगरपालिकाले तयार गरेको आइसोलेसन वार्ड नजिकै रहेको भन्दै डा. थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताउनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा बिरामीको चाप कम हुनेछ ।
नेपालगन्ज उप–महानगरपालिकाले सामान्य बिरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आइसोलेसन वार्ड तयार गरेको उप–महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब सङ्कलन कार्य समेत सुरु गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्