नारायणी अस्पतालमा उपचारत थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारत आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा कोरोना सङ्क्रमण भई उपचारार्थ भर्ना भएका रौतहट रजवराकी ५० बर्षिया महिलाको आज अपराह्न २ः०० बजे मृत्यु भएको छ ।
आज दिउँसो १२ः०० बजे नारायणी अस्पतालमा उपचारका लागि रौतहटबाट ल्याइएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
उच्च निमोनिया तथा श्वास प्रश्वास सम्बन्धी समस्याको कारण उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
त्यसै गरी नारायणी अस्पतालमा कोरोना सङ्क्रमित भई उपचारका लागि आजै भर्ना भएकी वीरगंज महानगरपालिका वडा नम्बर २७ निवासी ६० बर्षीया एक महिलाको आज बिहान १०ः०० बजे निधन भएको छ ।
उच्च निमोनिया र श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी महिलाको उपचारकै क्रममा निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमा कोरोना सङ्क्रमण भई उपचारत बारा स्वर्ण गाउँपालिका वडा नम्बर ७ निवासी ३० बर्षिया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वास प्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा मङ्गलवार भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
त्यसै गरी नारायणी अस्पतालमा सर्लाहीको धनगढा वडा नम्बर ४ निवासी ४३ वर्षीय पुरुषको समेत आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख १४ गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टीजिन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा उनको आज बिहान निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
मृतकमा उच्च निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याको कारण भेन्टिलेटरमा राखेर उपचार गराउँदा समेत बचाउन नसकिएको डा.दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्