तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न झापा बारको आग्रह

भद्रपुर, झापा । नेपाल बार एशोसिएसन झापाले कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा पारेको प्रभावप्रति चिन्ता जनाउँदै आम नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न तीनै तहका सरकारलाई आग्रह गरेको छ  ।
बार एशोसिएसन झापा र सोही मातहत रहेको मानवअधिकार तथा जनसरोकार समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै  संवेदनशील बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने उल्लेख गरेका छन् ।
सरोकार समिति संयोजक टङ्कप्रसाद दंगाल र एशोसिएशन अध्यक्ष हरिप्रसाद अधिकारीद्वारा  हस्ताक्षरित  विज्ञप्तिमा कोभिडको जोखिम उच्च अवस्थामा पुग्न सक्ने भन्दै सरकारी कार्यालयहरूमा भइरहेको भिडभाड व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर मात्र  सेवा प्रवाहको व्यवस्था मिलाउन आग्रह गरिएको  छ ।
विज्ञप्तिमा सीमा नाकामा हुने आवतजावतमा कडाइ गर्दै निगरानी बढाउन र सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।
त्यसै गरी, आपतकालीन रुपमा आवश्यक पर्ने तरल पदार्थसहितको अक्सिजन तथा अन्य  आवश्यकीय स्वास्थ्य सामग्रीसमेतको प्रबन्ध र व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button