तपाईँ सुन्दै हुनुहुन्छः

आपूर्ति व्यवस्थाबारे उद्योगी व्यवसायीसँग छलफल

काठमाडौँ । कोरोनाको प्रकोप बढ्दै जाँदा आपूर्ति व्यवस्थामा पर्नसक्ने प्रभाव तथा आपूर्ति व्यवस्थाका बारेमा सरकारले उद्योगी व्यवसायीहरुसंग आइतबार छलफल गरेको छ । छलफलमा कोभिड–१९ ले नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी सरकारलाई निजी क्षेत्रका प्रतिनिधिहरूले गराउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ  ।
कोभिड असर बढ्दै गएपछि अत्यावश्यक वस्तुको उपलब्धता र आपूर्ति व्यवस्थाबारे मन्त्रालयले छलफल गरेको र आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बताउनुभयो ।
छलफलमा खाद्यान्न, औद्योगिक कच्चा पदार्थ, स्वास्थ्य सामग्री, इन्धन लगायतका वस्तुहरू बजारमा प्रशस्त मात्रामा मौज्दात रहेको र आपूर्ति व्यवस्थामा पनि अवरोध नभएको जानकारी व्यवसायीले मन्त्रालयलाई गराएका थिए ।
छलफलमा नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम डिसर्ल एसोसिएसन र ट्रक तथा ट्याङ्कर व्यवसायीहरू सहभागी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button