सप्तरीमा कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी सुरु
सप्तरी । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सप्तरीमा त्यसको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी सुरु गरिएको छ ।
गत वर्ष कोरोना महामारीको बेला जिल्लामा अक्सिजनको व्यवस्था थिएन भने अहिले सोको व्यवस्थापन गरिएको छ ।
त्यसैगरी बन्द रहेका आइसोलेसनहरूको पुन सञ्चालन, पिसिआर परीक्षणको दायरा फराकिलो बनाइँदै कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारतमा सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक वृद्धि हुँदा अक्सिजनको अभाव रहेको र सप्तरीमा समेत यसको प्रभाव पर्न सक्ने कुरालाई ध्यानमा राखी शनिबार मात्र इटहरीबाट ८५ सिलिन्डर अक्सिजन झिकाइएको र थप अक्सिजनका लागि समेत आवश्यक पहल थालिएको डा.झाले बताउनुभयो ।
सीमावर्ती नाकासँग टाँसिएको यस जिल्लामा दैनिक रुपमा भारतबाट आउनेहरूको सङ्ख्या बढ्दो छ । हालसम्म जिल्लामा एक महिनाको अवधिमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । संक्रमित १२ मध्ये एक स्वास्थ्यकर्मी र दुई कर्मचारी समेत रहेका छन् ।
यसै गरी हाल बन्द अवस्थामा रहेका जिल्लाका आइसोलेसन केन्द्रहरूलाई समेत पुन सञ्चालनका लागि तयारी सुरु गरिएको छ ।
जिल्लाका पाँच आइसोलेसन केन्द्र मध्ये राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा तत्काल २५ शय्याको आइसोलेसन तयारी अवस्थामा रहेकोमा अबको केही दिन भित्रै गजेन्द्र नारायण सिंह अस्पतालमा पनि २५ शय्याको आइसोलेसन सेवा सुरु हुने डा झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्