कर्णालीमा कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा कोरोना सङ्क्रमण दर बढ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ ।
भारतीय सीमा नाका हुँदै बाँकेबाट फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको हो ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार सीमा नाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा संक्रमण दर बढेको छ ।
भारतलगायत नेपालकै अन्य जिल्लाबाट निर्वाधरुपमा नागरिक कर्णाली प्रदेश प्रवेश गरेसँगै सङ्क्रमण दर बढ्दै गएको छ ।
सुर्खेतमा शनिबार मात्र १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैङ्क र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषि, व्यवसायी र स्वास्थ्यकर्मी पाँच–पाँच जना छन् ।
यस्तै, भारतबाट फर्केका पाँच, पत्रकार तीन, चालक दुई र राजनीतिज्ञ एक जना रहेका छन् । केही हुँदैन भन्दै नागरिकले स्वास्थ्यका मापदण्डहरू पालना नगर्दा सुर्खेतलगायतका जिल्लामा कोरोना संक्रमण दर ह्वातै बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले बताउनुभयो ।
उहाँका अनुसार सुर्खेतमा मात्र हालसम्म ३ सय ६८ जना पुगेका छन् । अघिल्लो हप्तामा १ सय २३ संक्रमित फेला परेका थिए ।
शुक्रवार एकै दिनमा ९४ जना सङ्क्रमित थपिएका थिए । सङ्क्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् । कोरोना भाइरसको दोस्रो लहरका कारण प्रदेशको राजधानी सुर्खेत भयावह अवस्थामा पुग्ने खतरा देखिएको छ । पछिल्ला केही दिनहरूमा सङ्क्रमितको दर ह्वात्तै बढेसँगे सुर्खेत कोरोनाको हटस्पट बन्दै गइरहेको छ ।
सरकारले कोरोनाको उच्च जोखिम १४ जिल्ला मध्ये सुर्खेतलाई निश्चित इङ्गित छ । ‘कोरोना संक्रमण रोक्न सबै पक्ष गम्भीर नभए सुर्खेतमा भयावह बन्ने उच्च खतरा छ,’ स्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले भन्नुभयो, ‘अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गरेर दैनिक कार्य गर्नमा कुनै कञ्जुसाइ नगर्न आम नागरिकलाई आग्रह गर्दछु ।’
लकडाउनको सम्भावना बढ्दै
प्रदेशको राजधानी सुर्खेतमा दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति सृजित हुँदै गइरहेको छ ।
जिल्ला कोभिड–१९, सङ्कट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले आगामी तीन÷चार दिनको संक्रमण दरको स्थितिलाई आङ्कलन गरेर लकडाउन गर्न सकिने स्थानीय प्रशासनको भनाई छ ।
‘संक्रमण दर बढेमा नयाँ कदम चाल्नु पर्ने देखिन्छ,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भन्नुभयो, ‘केही दिनमा कोरोना सङ्क्रमितको दर यहीँ रफ्तारमा बढे संक्रमण रोक्न लकडाउन नै गर्नुपर्ने अन्तिम विकल्प हो ।’
भारतमा कोरोनाको भयावह अवस्था हुनु र रोजगारीका लागि भारत गएकाहरू घर फर्कने सिजन सुरु भएकोले संक्रमण दर अझै बढ्ने आङ्कलन गरिएको छ ।
‘नेपालगञ्जमा लागु गरिएको लकडाउन र त्यसको प्रभावकारिताबारे नजिकबाट बुझिरहेका छौँ । नेपालगञ्जमा लकडाउन लागु गरे पनि भारतबाट कर्णाली आउने नागरिक निर्बाध रूपले आइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यसले थप स्थिति भयावह हुने खतरा रहेकाले जिल्ला प्रवेशद्वारहरूमा उच्च सतर्कता र सावधानी अपनाउन जरुरी छ ।’
बैठकले समग्र जिल्लामा सङ्क्रमणको पछिल्लो अवस्था, आइसियु, भेन्टिलेटर, आइसोलेसन, एम्बुलेन्स लगायतको उपलब्धता बारे समीक्षा गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्