कोरोना सङ्क्रमितको सङ्ख्या अनियन्त्रित रुपमा बढ्दै, जनजीवन प्रभावित

बीरगंज । बीरगंज तथा बारा, पर्सामा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सङ्क्रमितको सङ्ख्या अनियन्त्रित रुपमा बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ ।
सङ्क्रमितहरूले कोरोना सङ्क्रमणको पहिलो लहरको तुलनामा दोस्रो लहरलाई सामान्य रूपमा लिनुका साथै आइसोलेसनको नियम कडाइका साथ पालना नगर्दा अवस्था बिग्रिँदै गएको चिकित्सकहरूले बताएका छन् ।
वीरगंजमा अधिकांश सङ्क्रमितहरू पूर्ण निको नभई बजार, पसल तथा अन्य स्थानमा आवतजावत गर्ने गरेका छन् ।
सङ्क्रमितहरूको अनुगमन र नियमन हुन नसक्दा समस्या बढ्दै गएको छ । होम आइसोलेसनमा बस्नेहरूको अनुगमनको जिम्मा स्थानीय तहको भए पनि स्थानीय तहले कुनै जिम्मेवारी बहन नगरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कामेश्वर चौरसियाले बताउनुभयो ।
बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले होम आइसोलेसनमा बसेकाहरूको अनुगमन हुन नसकेको स्वीकार गर्दै अहिले होम आइसोलेसनमा बसेकाहरूको अनुगमन नगरिएको बताउनुभयो ।
उहाँले सम्बन्धित वडाका अध्यक्षहरूको नेतृत्वमा समूह गठन गरेर आइतबारदेखि अनुगमन सुरु गरिने पनि बताउनुभयो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होम आइसोलेसनमा बस्नेहरूको निगरानी गर्न पालिकालाई नै बढी जिम्मेवार बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले हालसम्म नारायणी अस्पतालमा उपचारार्थ भर्ना रहेका सङ्क्रमितको सङ्ख्या ३९ पुगेको बताउनुभयो ।
त्यसमध्ये ५० प्रतिशतको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
उहाँले बिरामी मध्ये २७ जनालाई अक्सिजन दिएर भर्ना गरिएको र १२ जनालाई आइसियु तथा भेन्टिलेटरमा राखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्