तपाईँ सुन्दै हुनुहुन्छः

झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट

भद्रपुर, झापा। कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीब्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् ।मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख रुपैयाँको लगानीमा अक्सिजनको प्लान्ट निर्माणाधीन छ ।

कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ शैयाको अलग अस्पताल समेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ ।
विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।
मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताउनु भयो । चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पताल मुक्त भएको उहाँले बताउनु भयो । अस्पतालले हरेक महिना रु. १ लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ ।

आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालहरुले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button