तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज सीमा नाकाबाट हुने आवागमनमा कडाइ

वीरगञ्ज । विगत एक साता यता वीरगंजमा मात्रै कोरोना सङ्क्रमणको कारण नौ जनाको ज्यान गएपछि अहिले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरिएको छ ।
ज्यान गुमाएका मध्ये अधिकांश भारतबाट संक्रमित भई भित्रिएको ट्राभल्स हिष्ट्रीबाट प्रमाणित भएपछि सीमा नाकामा थप कडाइ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । खुला र अनियन्त्रित आवागमनले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको कारण सीमा नाकाबाट हुने आवतजावतलाई निरुत्साहित गरिएको घिमिरेले बताउनुभयो ।
यसैबिच अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ४७ भन्दा बढी पुगिसकेको जानकारी घिमिरेले दिनुभयो ।
भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा सङ्क्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनले निकालेको छ ।
भारतबाट भित्रिनेहरूलाई सिमानाकामा रहेका दुई वटा हेल्थ डेस्कमा प्रारम्भिक स्वास्थ्य परिक्षण गरी शंकास्पदलाई भारत तर्फै फर्काइने गरिएको घिमिरेले बताउनुभयो ।
वीरगंज नाकामा कडाइका साथ भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी समेत उहाँले दिनुभयो ।
यसैबिच, पछिल्लो पटक सम्पन्न स्थानीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ वटै पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार प्रत्येक पालिकामा तयारी राख्ने निर्णय बैठकले गरेको घिमिरेले बताउनुभयो ।
अहिले वीरगंजको नारायणी अस्पतालमा ३९ जना कोरोना सङ्क्रमितहरूको उपचार भई रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उपचार गराई रहेका मध्ये ५० प्रतिशत भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button