तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष गिरफ्तार, ५ दिन म्याद थप

सुनसरी । किशोरीसँग अवैध यौन सम्पर्क गर्दागर्दै ५७ वर्षीय सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले गिरफ्तार गरेको छ ।
वैशाख ८ गते बुधवार दिउसो ५ बजेको समयमा १७ वर्षीया किशोरीलाई धरान ४ स्थित डुकु होटलमा बलात्कार गर्दागर्दै गिरफ्तार गरेको हो ।
यसबारे थप अनुसन्धान गर्न बिहीबार वैशाख ९ गते सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले पक्राउ परेका अध्यक्ष यादवसहित किशोरीको बुधवार राती नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो ।
यादवलाई थुनामा राखी अनुसन्धान गर्नका लागि सुनसरी जिल्ला अदालतका ३ नम्बर इजलासका न्यायधिश दीपककुमार दाहालले प्रहरी मागेको पाँच दिनको म्याद दिनुभएको हो ।
तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट स्थानीय तहमा निर्वाचित अध्यक्षको रुपमा रहनुभएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई सुनसरीको धरान ४ स्थित डुकु होटलबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
गोप्य सूचनाको आधारमा र पीडित किशोरीको गुनासोको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले यादव र किशोरीलाई आपत्तिजनक अवस्थामा गिरफ्तार गरेको हो ।
स्रोतका अनुसार स्थानीयले सुनसरी प्रहरीलाई दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले यादव बसेको होटलमा छापा मारेको थियो । होटेलमा यादवसँगै किशोरी समेत फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई गिरफ्तार गरेको प्रहरीको भनाई छ ।
धरानमा रंगेहात पक्राउ परेका यादवविरुद्ध सुनसरी प्रहरीले बिहीबार जबरजस्ती करणी मुद्दा चलाउने गरी म्याद थप गरिएको छ । होटलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान कण्डमसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button