तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८ सम्पन्न

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उल्लंघनका घटनाहरूले राष्ट्रिय सुरक्षालाई कमजोर पारी व्यक्तिगत, समूहगत र विभिन्न छद्मभेषी तत्त्वहरूको स्वार्थ पूर्ति गर्नका लागि सघाउ पुग्ने हुँदा सचेत रहन आवश्यक रहेको बताउनुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८ को आज समापन गर्नुहुँदै प्रधानसेनापति थापाले हाम्रो सोचाई र व्यक्तिगत मूल्य मान्यतामा परिवर्तन नआएसम्म सङ्गठनको कार्यशैलीमा परिवर्तन ल्याउन कठिन हुने बताउनुभयो ।
उहाँले परिवर्तनको शुरुवात आफैंबाट गरौँ भन्ने भावना सहित लिइएको सकारात्मक परिवर्तनको पहलकदमीको औचित्य साबित हुँदा यसबाट सम्पूर्ण सैनिक व्यक्ति र मूल रुपमा सैनिक सङ्गठन लाभान्वित हुनेमा जोड दिनुभयो ।
प्रधान सेनापति थापाले सैनिक आचारसंहिता सङ्ग्रह प्रकाशन भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा यसलाई केबल दण्डित गर्ने व्यवस्थाका रुपमा नबुझेर सङ्गठनमा सकारात्मक कार्य संस्कृतिको निर्माण गरी सराहनीय कार्यलाई प्रोत्साहन र पुरस्कृत गर्ने अवसरको विकास गर्ने माध्यमका रुपमा बुझ्नु पर्ने धारणा राख्नुभयो ।
प्रधानसेनापति थापाले नीति नियमले व्यक्तिलाई सही बाटो देखाइदिने सम्म मात्र भएकाले सो बाटोमा कसरी हिँड्ने भन्नेमा व्यक्ति स्वयंमा नै निर्भर रहने बताउनुभयो ।
पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्रले सदाचार, मानवीय मूल्य मान्यता एवं मानवीय आचरणका सम्बन्धमा अभिप्रेरणात्मक प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा पतञ्जलि योग समिति नेपालका प्रमुख मिश्र र पतञ्जलि योग समिति युवा नेपालका प्रमुख लोकनाथ खनालले योग आसन प्रस्तुत गर्नुभएको थियो ।
कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी यही वैशाख २ गतेदेखि सञ्चालन गरिएको कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
यस प्रकारका कार्यक्रमको सञ्चालनबाट व्यक्तिलाई थप अनुशासित, नैतिकवान् र ऊर्जावान् बनाउन थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button