सौर्य शक्तिमा आधारित लिफ्ट सिँचाइ, सिरेनी क्षेत्रलाई हरियाली बनाइँदै

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७, का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरूलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ ।
बस्ती नजिकैबाट भेरी नदी सुसाइरहेको भए पनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको भर पर्नुपर्छ । जति मेहनत गरे पनि सिँचाइ अभावले वर्ष भरी खान पुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिँचाई प्रविधि भित्र्याएर गाउँको मुहार फेर्न नागरिक तल्लीन रहेका छन् ।
एक करोड ६१ लाख रुपैयाँको लागतमा शौर्य शक्तिको प्रयोगबाट भेरी नदीको ८० मिटर माथि ४० घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण कार्य सुरु गरिएको छ ।
विपन्न दलित समुदायको बाहुल्यता रहेको सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरूमा कर्णाली प्रदेश सरकार खानेपानी, सिँचाई तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानी पोखरी (वाटर रिजर्भ टङ्की) बनाउन लागिएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको खानेपानी, सिँचाई तथा ऊर्जा कार्यालयका इन्जिनियर डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिँचाई आयोजनाबाट करिब ४० हेक्टर क्षेत्रफलमा सिँचाई पुर्याउने लक्ष्य राखिएको छ,।’
इन्जिनियर उपाध्यायले भन्नुभयो, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिँचाई आयोजना कोसेढुङ्गा साबित हुने विश्वास राखेका छौँ ।’
उहाँले नजिकै पानीको स्रोत भए पनि सुख्खा रहेका सुर्खेतका बस्तीहरूका लागि लिफ्ट सिँचाई उपयुक्त रहेको बताउनुभयो । ‘बाह्रै महिना गाउँमा सिँचाइको सुविधा पुगेपछि युवा विदेश जाने सोच त्यागेर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सक्नेछन् ।’
कर्णाली प्रदेशसभा सांसद ठम्मरबहादुर विष्टले भन्नुभयो, ‘सिँचाई अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन काला पहाडदेखि खाडी मूलकसम्म भौतारिरहनु परेको छ ।’
उहाँले सिँचाई सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषकलाई लिफ्ट सिँचाई प्रविधि ल्याइएपछि उत्साहित भएको जनाउनुभयो । ‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १, मा यस्ता अन्य कयौँ बस्तीहरू छन् । कृषिलाई व्यावसायिक गराउन प्रोत्साहन गरिएको यस्तो प्रविधिले कृषि पेसालाई उत्पादनशील बनाउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, यस्तो प्रविधि सिँचाइ समस्या भएका अन्य स्थानमा पनि अनुसरण गराउन मेरो प्रयास जारी छ ।’

उहाँले बाह्रै महिना सिँचाई सुविधाको चुनौतीको रुपमा रहेका सिरेनी, सुँगरखाल र कोप्चीलगायतका सुक्खा बस्तीहरूमा सिँचाई पुर्याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागि परेको बताउनुभयो ।
यता गाउँमा पर्याप्त कृषियोग्य जमिन भए पनि सिँचाई अभावले उत्पादन बढाउन नसक्दा घर खर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताउनुभयो ।
उहाँले सिरेनी, सुँगरखाल र कोप्चीलगायतका दलित सुकुम्वासी बस्तीहरूमा सिँचाई पुगेपछि गाउँको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो ।
गाउँमा बाह्रै महिना सिँचाई सुविधा पुर्याउन सके उब्जनी बढाएर यही माटोमा सुन फलाउन सकिने स्थानीय सीता विकले बताउनुभयो । उहाँका अनुसार कृषिको उत्पादकत्व बढाउन सके बजारको कुनै समस्या छैन ।








प्रतिक्रिया राख्नुहोस्