पाक्न लागेको मकै बाँदरले खान थालेपछि किसान चिन्तित

भद्रपुर, झापा। पाक्न लागेको मकै बाली बाँदरले खान थालेपछि झापा, मेचीनगरका किसान चिन्तित बनेका छन् ।मेचीनगर नगरपालिका वडा नं. ५ को राम मन्दिर टोलमा बाँदरले किसानलाई दुःख दिन थालेका छ।
स्थानीय टोकला चिया बगान र निजी वन क्षेत्रबाट टोलतिर दिनहुँ पस्ने बाँदरले किसानको पाक्न लागेको मकै बाली खाएर सखाप पारेका छन् । घरभित्र पसेर खानेकुरा खाइदिने र बालबालिकालाई समेत लखेट्ने गर्नाले स्थानीयवासी हैरान बनेका छन् ।३० देखि ४० वटाको सङ्ख्यामा रहेका बाँदरले गाउँमा आतङ्क नै मच्चाएको टोलका दधिराम बराल बताउनु हुन्छ । बिहानदेखि बेलुकासम्म खेतमै बस्दा समेत मकै जोगाउन नसकिएको र मानिसले मात्र खेदाउँदा पार नलागेकाले कुकुरको समेत सहयोग लिनुपरेको उनको उहाँको भनाइ छ ।
दिनैपिच्छे बाली खाएर हैरान पार्न थालेपछि स्थानीयहरू समूह बनाएर बाँदर खेदाउँछन् । उनीहरूले बाँदर खेदाउन कुकुरको समेत सहयोग लिने गरेका छन् । एक्लै बाँदर खेदाउँदा बाँदरले नै आक्रमण गर्ला भन्ने त्रास बढेको स्थानीय अमर गौतमले बताउनु भयो ।सो क्षेत्रमा विगत ३ वर्षदेखि बाँदरको उपद्रो बढेको हो । सोही वडाका कुलबहादुर बुढाथोकीले बाँदरले खाइदिने भएकाले यस वर्ष आफूले मकै बाली नलगाएको बताउनु भयो ।
बाँदरले मकै बाली मात्र नभएर फल तथा सब्जी खेतीमा समेत क्षति पुर्याउँदै आएको छ । लौकाको चिचिला, फर्सीका गट्टा तथा विभिन्न फलसमेत नष्ट गर्न थालेको सोही वडाका भवानी गुरागाईँले बताउनु भयो । समयमै बाँदरको व्यवस्थापन नगरे आगामी दिनमा थप समस्या आउने र खेतीप्रति किसानको उत्साह घट्ने उहाँ¬को भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्