सोलुदूधकुण्ड बन्यो साक्षर नगरपालिका
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र सोलुदूधकुण्ड नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
कुल जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भएको क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न मिल्ने व्यवस्था अनुरूप नगरपालिकालाई नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले साक्षर नगरपालिका घोषणा गर्नुभएको हो ।
नगरपालिकाको कुल जनसङ्ख्या २४ हजार ३२३ मध्ये गत वर्ष सर्वेक्षण गर्दा एक हजार ३१२ जना निरक्षर भएको पाइएको थियो ।
निरक्षरलाई साक्षरता कक्षा सञ्चालन गरी ५६१ जना साक्षर बनाई करिब कुल जनसङ्ख्याको ९६.९२ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको मेयर शेर्पाले बताउनुभयो ।
मेयर शेर्पाले सबै नागरिक साक्षर नभएकाले आगामी दिनमा साक्षरता कक्षा सञ्चालन गरी सबै नागरिक साक्षर बनाउन पहल गर्ने बताउनुभयो ।
नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार साक्षर नगरपालिका घोषणा गरिएको हो ।
यसअघि नेचासल्यान गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको थियो ।
नेचासल्यानको कुल जनसङ्ख्या १५ हजार ५२६ मध्ये ९७ प्रतिशत साक्षर रहेको तथ्याङ्क सङ्कलनपछि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।
नेपाललाई नै साक्षर मुलुक घोषणाका लागि देशभर घोषणा अभियान सञ्चालन गरिएको छ ।
अध्यक्ष बाँस्तोलाका अनुसार नेचासल्यान गाउँपालिकामा १५ वर्षभन्दा माथिको कूल जनसङ्ख्या १२ हजार२ दुई सय ६० मध्ये ९६.२० प्रतिशत तथा १५ देखि ६० वर्ष समूहको कूल जनसङ्ख्या १० हजार ६ सय ९८ मध्ये ९५.७० प्रतिशत भन्दा बढी साक्षर रहेका छन् ।
अध्यक्ष बाँस्तोलाले शिक्षातर्फको पूर्वाधार विकास लगायत शैक्षिक गतिविधिको सुधारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै साक्षर हुन बाँकी रहेका गाउँपालिकाका नागरिकहरूलाई पनि क्रमशः अक्षरी साक्षरसँगै समयसापेक्ष रुपमा सूचना प्रविधियुक्त साक्षर बनाउनका निम्ति आवश्यक पहल गर्ने बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्