लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । चैत महिनाको राजस्व सङ्कलनमा सरकारले लक्ष्यभन्दा बढी सफलता हात परेको छ ।
गत चैत महिनामा आयाततर्फ धेरै वृद्धि भएर भन्सार महसुलमा लक्ष्यभन्दा १३ अर्ब धेरै राजस्व सङ्कलन भएको छ ।
गत वर्षको चैतपछिका झन्डै ८ महिना कोभिडको प्रभाव देखिँदा ओरालो लागेको आयात पछिल्लो चार महिनादेखि सुधार हुँदै गएको छ । भन्सार विभागले चालु वर्षको नौ महिनामा तीन खर्ब आठ अर्ब असुल गर्ने लक्ष्य लिएकोमा सङ्कलन भने ३ खर्ब ३० अर्ब भइसकेको छ ।
जुन लक्ष्यभन्दा २२ अर्बले बढी रहेको भन्सार विभागले जनाएको छ ।
यसै गरी आन्तरिक राजस्व विभागले पनि चैत महिनाको राजस्व सङ्कलनमा लक्ष्य नघाएको छ ।
विभागले चैत्र महिनामा ५५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा त्यसभन्दा करिब ८५ करोड बढी उठाउँदै चैतमा कुल ५६ अर्ब ४३ करोड राजस्व सङ्कलन गरेको छ ।
विभागको चालु वर्षको नौ महिनाको कुल राजस्व सङ्कलन भने लक्ष्यभन्दा एक अर्ब कम रहेको छ ।
चालु वर्षको नौ महिनामा विभागले ३ सय ११ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३ सय १० अर्ब उठेको छ ।
यद्यपि, चालु वर्षमा तोकिएको लक्ष्य भने पूरा हुने विभागका महानिर्देशक झक्क प्रसाद आचार्यले बताउनुभयो ।
यसै गरी मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि सरकारको लक्ष्य नाघेको छ चैत्रमा ८ अर्ब ७१ करोड भ्याट सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ११ अर्ब २ करोड असुली भएको छ ।








प्रतिक्रिया राख्नुहोस्