पाल्पाको रामपुर अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट जन्मियो बच्चा

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा पहिलोपटक शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ । सामान्य प्रसूति चेकजाँच र नर्मल प्रसूति सेवा दिँदै आएको अस्पतालले शल्यक्रिया मार्फ सुत्केरी गराएको हो ।
निस्दी गाउँपालिका वडा नं. ५ गल्धा बेलौजे बस्ने २७ वर्षीय यमसरी सारुको शल्यक्रियाबाट बच्चा जन्माएको रामपुर अस्पतालले जनाएको छ । सारुको ३ किलो ४५० ग्रामको छोरी अप्रेसनबाट जन्मिएको हो ।आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
पाल्पा सदरमुकामदेखि ६५ किलोमिटर पूर्व रहेको रामपुर अस्पताल जिल्लाकै ठुलो अस्पताल हो । तथापि यहाँ भौतिक र आवश्यक सामाग्रीको अभावमा अहिले १५ शैयाको सेवा दिइरहेको छ । अस्पतालले मेसिन सञ्चालनमा आएपछि गत फागुन १६ गते शल्यक्रिया सेवा शुभारम्भ गरेको थियो ।
रामपुर अस्पतालका डाक्टर बासुदेव सुवेदीको नेतृत्वको टोलीले पहिलो पटक शल्यक्रियासहित प्रसूति सेवा दिएको थियो ।२०७२ सालमा ५० शैंयाको अस्पतालका रुपमा सरकारले रामपुर अस्पताललाई घोषणा गरेपनि यस अघि सुत्केरी हुन जिल्ला सदरमुकाममा रहेका निजी अस्पताल धाउनुपर्ने अवस्था थियो । सुत्केरी गराउने सामाग्री नहुनुले सामान्य सुत्केरी बाहेक जटिल र पहिलो सुत्केरी हुने गर्भवतीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जिल्ला पठाउनुपर्ने अवस्था थियो ।
सारुको पहिलो अप्रेसन हो । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियारका अनुसार सारुको यो दोस्रो सन्तान हो ।







प्रतिक्रिया राख्नुहोस्