तपाईँ सुन्दै हुनुहुन्छः

मुल्ली गाउँमा आगो लगाउने एक जना पक्राउ

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ ढिपुस्थित मुल्ली गाउँमा आगो लगाउने एक जना पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।
चैत २१ गते सोही गाउँका तेज बहादुर बोहोराले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पूर्ण रुपमा जलेको र १५  वटा घरमा आंशिक क्षति भएको थियो ।
पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण स्थानीय जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै मुल्ली गाउँ नै जलेको बताएका छन् ।
एक जना व्यक्ति सँगको रिसिइबीका कारण गरिएको आगलागीले मुल्लीगाउँका करिब ७५ घरधुरी अहिले विस्थापित भएका छन् ।
यता प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलो पटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताउनुभयो ।
उहाँका अनुसार व्यक्तिगत स्वार्थका लागि आम नागरिकको मौलिक अधिकार हनन हुने  गरी आगलागी गर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही अगाडी बढाउने डिएसपी थापाको भनाई छ ।
यसअघि जुम्ला तिला गाउँपालिका–७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए । पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो ।
मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभए पनि अन्नपात पूर्ण रुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोरा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button