कर्णालीमा डिजिटल अभियान प्रभावकारी बन्दै
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैङ्क लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ ।
सेवाग्राहीले बैङ्कबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि अभियान प्रभावकारी बन्दै गएको हो ।
कर्णालीमा डिजिटल महाअभियान चैतको पहिलो सातादेखि सुरु गरिएको थियो ।
महाअभियान अन्तर्गत डिजिटल प्रविधिमार्फत क्युआर कोड (क्विक रेस्पोन्स कोड) एक सय ५० जनाले लिइसकेको नेपाल बैङ्क लिमिटेड सुर्खेत शाखाले जनाएको छ ।
यसबाट सेवा लिन सजिलो हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको शाखा प्रमुख गणेश केसीले बताउनुभयो । ‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ । उसलाई उधारोमा सामान दिन पनि सकिँदैन । आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिँदैन,’ उहाँले भन्नुभयो, ‘यस्तै परिस्थितिमा क्युआर कोडको महत्त्वपूर्ण भूमिका रहन्छ । क्युआर कोडमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उधारोमा सामान दिनु पनि पर्दैन ।’ यसले किनमेल सहज भएको उहाँको भनाइ छ ।
क्युआर कोडमार्फत सामान खरिद गर्न सहज हुने नेपाल बैङ्क लिमिटेडले बताएको छ ।
समयको परिवर्तनशीलतालाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै नगदरहित अर्थतन्त्र निर्माणमा यस अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।
काठमाडौँ बाहिर कर्णाली प्रदेशका साना सहरमा समेत डिजिटल प्रति उपभोक्ताको बढ्दो आकर्षणले प्रविधिमैत्री अभियानलाई समेत टेवा पुर्याएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले नविनतम् प्रविधि तथा सेवा मार्फत सेवाग्राहीको जीवन सहज बनाउन सहयोग पुगेको बताउनुभयो ।
उहाँले अझै पनि ग्रामीण भेगमा बिजुलीको महसुल तिर्नेजस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्यका लागि डिजिटल अभियानलाई तीव्रता दिन आवश्यक रहेको बताउनुभयो ।
बैङ्किङ पहुँच नपुगेका दूर दराजको जनसङ्ख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरूको जीवन सरल बनाउने तर्फ सरकारले सोच्न आवश्यक रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्