कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको पूर्व तयारी गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले भारत सहित अन्य छिमेकी मुलुकहरूमा बढ्दै गरेको कोरोना भाइरस सङ्क्रमणले नेपालमा आउन सक्ने जोखिमको आङ्कलन गरी आवश्यक सतर्कता अपनाउन तथा रोकथाम एवं नियन्त्रणको पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई विगतको अनुभवका आधारमा क्वारेनटाइन तथा आइसोलेसन सेन्टरहरू व्यवस्थित गर्ने लगायतका पूर्वतयारी गर्न निर्देशन दिएको हो ।
यसैगरी बैठकले प्रयोगशाला तथा अस्पतालहरूमा देखिएको जनशक्ति अभावको समस्यालाई तत्काल सम्बोधन गरी तयारी अवस्थामा राख्न तथा आइसियु बेड, अक्सिजन लगायतका सुविधाहरू सबैलाई सहज रूपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
यस्तै बैठकले पीसीआर परीक्षण तथा कोरोना विरुद्धको खोप सबै नागरिकका लागि उपलब्ध हुने गरी व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संस्थाहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन हुने गरी मन्त्रालयले कर्मचारी समायोजन पुनरावलोकन गर्न लागेको बताउनुभयो ।
मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप तथा अन्य स्वास्थ्य सामग्रीहरूको अभाव नहुने गरी आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको समेत बताउनुभयो ।
समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू खगराज अधिकारी, उमाकान्त चौधरी, जीवनराम श्रेष्ठ, मानवहादुर विश्वकर्मा लगायतले भारत सँगको खुल्ला सीमाका कारण आउन सक्ने जोखिमका आधारमा सीमावर्ती पालिकाहरूको क्षमता अभिवृद्धिमा जोड दिन तथा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुरूपका क्वारेनटाइन तथा आइसोलेसन केन्द्रको क्षमता बढाउने माग गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्