बन्दिपुरलाई शाहसिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने
काठमाडौँ । तनहुँको बन्दिपुरलाई शाहसिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधारहरू र केबलकार निर्माण गरिएको छ ।
बन्दीपुर केबुलकार एण्ड टुरिजमले करिब दुई अर्ब लागतको पर्यटकीय अवधारणा अनुरूप पर्यटन पूर्वाधारहरू र केबलकार निर्माण गरिएको हो ।
बन्दीपुरमा मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीलगायतका पूर्वाधारमा समेत लगानी गरी केबुलकार निर्माण कम्पनीले पर्यटन प्रवर्द्धनको योजना बनाएर साहसिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।
केबुलकार निर्माण कम्पनीले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण, जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६०० मिटर लामो भिरबाट टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो सिसाको पुलसमेत बनाउने गरी डिपिआर तयार गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
स्काइ साइक्लिङलगायतका मनमोहक मनोरञ्जनपूर्ण पूर्वाधार निर्माण गरी दैनिक पाँच हजार बढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँच वटा सहायक कम्पनीमार्फत थप एक अर्ब लगानी त्यस क्षेत्रमा गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।
बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेसनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्तामार्फत १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ ।
पर्यटन प्रवर्द्धन अभियानलाई साथ दिन केबुलकार परियोजनामा गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रवर्द्धनका लागि सचेतना जगाउने कार्य गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्