तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको मेलम्ची मानिएको तिनभंगाले खानेपानी आयोजना सम्पन्न

भोजपुर । भोजपुर सदरमुकाम र आसपासमा देखिएको खानेपानीको सङ्कट जिल्लाको मेलम्ची आयोजना मानिएको तिनभंगाले बने पछि टरेको छ ।
आयोजना बनेर सदरमुकामसम्म पानी आपूर्ति हुन थालेसँगै आलोपालो गरेर पानी दिनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । आयोजनाबाट पानी आपूर्ति हुन थाले पछि खानेपानीको सङ्कट हटेको भोजपुरमा खानेपानीको वितरण र व्यवस्थापन गर्दे आई रहेको सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । उहाँले भन्नु भयो, “आयोजनाबाट पानी आउन थालेको छ, यसले गर्दा अव उपभोक्ताहरूलाई बिहान बेलुकाको समयमा नै पानी दिन सकिन्छ ।”
जिल्लाकै एक मात्र ठुलो तिनभंगाले खानेपानी आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकाम लगायतका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनेको हो । वर्षौँदेखि खानेपानीको हाहाकार मच्चिँदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामवासी हर्षित बनेका छन् । यसअघि दैनिक २ लाख लिटरको हाराहारीमा वितरण हुने खानेपानी आपूर्ति बढेर करिब १० लाख लिटर पुगेको छ
धारामा चौबिसै घण्टा पानी आउन थालेपछि बजारवासी र आसपासका उपभोक्तामा समेत उत्साह छाएको छ । “हामीले आयोजना निर्माणका लागि प्रतिधारा १५ हजार बुझाएका थियौ, आयोजना बने पछि खुशी लागेको
छ ।” भोजपुर नगरपालिका वडा नम्बर ९ का उपभोक्ता सञ्जीव कार्कीले भन्नु भयो । वर्षौँदेखि खानेपानी समस्या भोग्दै आएका सदरमुकाम र आसपास नगर क्षेत्रका स्थानीयवासीको दैनिक जीवनयापन समेत फेरिएको छ ।
नियमित पानी नआउँदा एक ग्रागो पानीका लागि घण्टौ भिडभाडमा पालो कुर्नु पर्ने सास्ती अव हटेको उपभोक्ता तिर्थ माया श्रेष्ठले बताइन ।  ‘अब त बिहान बेलुका नै धारामा पानी आउँछ, पहिलाको जस्तो समस्या छैन । श्रेष्ठ भन्नुहुन्छ ।
विगतमा खानेपानी अभावले सहरीकरण, पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको थियो, आयोजनाको पानी वितरण भएपछि यी सबै समस्याको निदान भएको स्थानीय कर्ण मोक्तानले बताउनुभयो । मोक्तानले भन्नु भयो, ‘खानेपानी सदरमुकामसम्म आई पुग्नु सपना जस्तै थियो, जताततै खानेपानीको हाहाकार नै थियो, हामीले धेरै सास्ती पायौँ, तर अब यी सबै झन्झट टरेको छ’ ।
कुल ४९ करोड ७८ लाख ९८ हजार लागतमा ल्याइएको उक्त खानेपानी आयोजनाबाट भोजपुर सदरमुकाम, सिद्देश्वर, गुप्तेश्वर, बोखिम र टक्सारका करिब २ हजार २ सय ८० घरधुरीको घरघरमा खानेपानी पुगेको छ । झण्डै ३ वर्षअघि टेम्केमैयुङ गाउँपालिका १, तिम्माको तिनभंगालेबाट खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त मुहानबाट करिब ४० किलोमिटर प्रशारण लाइन र ७६ किलोमिटर वितरण लाइन गरी १ सय १६ किलोमिटर लामो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गरिएको आयोजनाका फिल्ड इन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।
बढ्दो सुख्खायामले खानेपानीका मुहानहरू सुक्नाले सदरमुकाममा बर्षेनी खानेपानीको समस्या बढ्ने गरेको थियो । आयोजनाको पानीले खानेपानीको समस्या समाधानका साथै खेतबारीमा सिँचाई गर्नलाई पनि सहज पुग्ने सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति कोषाध्यक्ष कृष्ण माया तामाङले बताउनुभयो । सदरमुकाम र आसपासका क्षेत्रको खानेपानी सङ्कट समाधान गर्न उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button