तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार र महासङ्घले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेश सरकारले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।
महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्का, सदस्य डा.दीपेन्द्र रोकाया र सदस्य योगेन्द्रबहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच शुक्रवार महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेकाले त्यसको प्रवर्द्धनका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडीबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताउनुभयो ।
कार्यक्रममा कर्णाली योजना आयोगका उपाध्यक्ष डा.खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले निजी क्षेत्रसँग मिलेर सम्मेलनको आयोजना गर्ने अवधारणा अगाडी बढाएको बताउनुभयो । कर्णाली प्रदेशमा परियोजना बैङ्क बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button