सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीबाट निलम्बन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।
पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसाल र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको नेकपा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाटीले जारी गरेको निलम्बन पत्रमा, पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु, प्रतिनिधि सभा सदस्य पद बाहेक पार्टी सदस्यताबाटै पार्टीको विधान २०७१ को धारा ४९ (ख) बमोजिम ६ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।
यस्तै पार्टीले सोधेको स्पष्टीकरणमा आफ्नो भुल, त्रुटीको स्विकारोक्ती नगरेको, आत्मसमीक्षा, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहङ्कार देखिएको र उहाँहरुलाई सोधिएको स्पष्टीकरण चित्त बुझदो नभएकोले पार्टीले कारबाही गरेको नेकपा एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले हस्ताक्षर गर्नुभएको निलम्बन पत्रमा नेता भुसाल र पाण्डेलाई सच्चिने यो अन्तिम मौका भएको भनिएको छ ।यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्