तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणनाको तयारी तीव्र

file photo

काठमाडौँ । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङ्क सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म १२ औं राष्ट्रिय जनगणना गर्दैछ ।
समितिको आजको बैठकमा सदस्यहरूले खास गरी बसाइँ सराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै ख्याल पुर्‍याउन सुझाव दिनुभयो ।
जनगणनामा शिक्षा, पेशा, बसाइँ सराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरूले सही तथ्याङ्क सङ्कलन गर्न गणकहरू प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणाली समेत आवश्यक रहेको उल्लेख गर्नुभयो । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।
सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरूले सामाजिक रूपान्तरणका लागि कुप्रथाको जड र केन्द्रबिन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिनुभयो ।
कर र राजश्व लगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सुझाव दिनुभयो । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरूले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भन्नुभयो ।
नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा मेरो गणनाः मेरो सहभागिता रहेको छ ।
योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गर्नुभयो । तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताउनुभयो ।
शहरका उच्च वर्गको तुलनामा कम साक्षरता भए पनि दूर दराजका जनताले वास्तविक तथ्याङ्क उपलब्ध गराएर सहयोग पुर्‍याएको विगतको अनुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सबै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुर्‍याउन अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button