शुक्लागण्डकीमा मेयर कप भलिबल सुरु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष भलिबल प्रतियोगिता शुक्रवारबाट सुरु भएको छ ।
वडा न ८ ढोरफिर्दीमा सुरु भएको प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले उद्घाटन गर्नुभयो । आफ्नै गृह क्षेत्रमा भएको कार्यक्रम उद्घाटन गर्दै पौडेलले देशको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न निर्वाचनको आवश्यकता बढेको बताउनुभयो ।
पौडेलले निर्वाचनका माध्यमबाट अघि बढ्ने क्रममा दलका उम्मेदवारहरूले स्थानीय मुद्दालाई राजनीतिक एजेन्डा बनाएर विकास र समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।
स्थानीयहरूबिचको सम्बन्धलाई प्रगाढ बनाएर खेलकुद क्षेत्रका विकास गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा शुक्रवार ४ खेल सम्पन्न भएको खेल संयोजक दिर्घबहादुर थापाले जानकारी दिनुभयो ।
शुक्रवार भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ख लाई कास्कीको मादी गाउँपालिकाले २—० को सोझो सेटमा, दोस्रो खेलमा आयोजक क समूहले देवघाट गाउँपालिकालाई २—० को सोझो सेटमा, तेस्रो खेलमा ब्यास नगरपालिका तनहुँलाई हरिनास गाउँपालिका स्याङ्जाले २–० को सोझो सेटमा र चौथो खेलमा बौदीकालि गाउँपालिका नवरपुले म्याग्दे गाउँपालिका तनहुँलाई २५—१३ र २५—२३ को सोझो सेटमा पराजित गरेका छन् ।
विभिन्न जिल्लाका १५ समूहले सहभागिता जनाएको प्रतियोगितामा शनिबार भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबिच पहिलो खेल हुने आयोजकले जनाएको छ । नगरपालिकाको प्रस्तावित रङ्गशालामा भइरहेको खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीलाई नगद १० हजार अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्