सुरक्षाकर्मीद्वारा बझाङमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी अभ्यास

बझाङ । बझाङमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीबारे अभ्यास गरिएको छ । सेती नदीमा वर्षेनी नुहाउने, कपडा धुने, माछा मार्ने र पौडी खेल्ने लगायतका क्रियाकलापहरू गर्दा सो अवस्थामा विभिन्न किसिमका दुर्घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बझाङ, सशस्त्र प्रहरी आश्रित गुल्म र जिल्ला अस्पताल सिमखेतको अगुवाइमा पूर्वतयारी र विपदबाट उद्धार कसरी गर्ने भन्नेबारे पूर्व तयारी अभ्यास गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङ, सशस्त्र प्रहरी आश्रित गुल्म र जिल्ला अस्पताल सिमखेतकै आयोजनामा बझाङको सेती नदीमा उक्त अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा नदीमा कृत्रिम शव, पानीमा डुब्दा कसरी उद्धार गर्ने कसरी व्यवस्थापन गर्ने लगायतका विभिन्न अभ्यास गरिएको थियो । सुरक्षा फौजको जिल्ला प्रहरी कार्यालय बझाङको टिम र सशस्त्र प्रहरी आश्रित गुल्मको टिमले शवलाई झण्डै आधा घण्टासम्मको खोजीपछि उद्धार गरी बाहिर निकालिएको थियो ।
शव वा घाइतेहरूलाई नदीबाट उद्धार गरी बाहिर निकालिसकेपछि के–कसरी व्यवस्थापन गरिन्छ भनेर देखाइएको थियो । उक्तm टोलीमा नेपाल प्रहरी स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीका जवानहरू सम्मिलित रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख रूपक खड्काले यदि कुनै दुर्घटना भइहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताउनुभयो । बझाङमा हरेक वर्ष लुगाकपडा धुँदा, पौडी खेल्दा सेती नदीमा डुब्ने र बग्ने भएकाले त्यसलाई सजिलै उद्धार गर्नका लागि सहज हुने समेत खड्काले बताउनुभयो ।
विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्वाभ्यास गराइएको खड्काले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्