जङ्गली बँदेलसहित एक जना पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्जले मासु खाने प्रयोजनका लागि घरमा लुकाई छिपाई राखेको अवस्थामा बँदेलसहित एक जनालाई पक्राउ गरेको छ ।
जीतपुरसिमरा वडा नं २ निवासी राधिका श्रेष्ठको घरबाट जङ्गली बँदेल बरामद गरिएको हो ।
निषेधित क्षेत्रबाट वन्यजन्तु ल्याएर घरमा लुकाइछिपाई राखेको अवस्थामा निकुञ्ज प्रशासनले घरधनी जीवनकुमार श्रेष्ठलाई खोर र बँदेलसहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
निकुञ्ज प्रशासनले श्रेष्ठको घरबाट वन्यजन्तु बँदेल राख्ने खोरसहित राधिका श्रेष्ठका पति जीवनकुमार श्रेष्ठलाई नियन्त्रण लिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले अधिकार प्राप्त व्यक्तिबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र वन्यजन्तुको सिकार तथा ओसार पोसार गर्न निषेध गरिएको छ ।
राधिका श्रेष्ठले सो बँदेल भेडे खोलाबाट ल्याएको स्थानीयहरूले जनाएका छ ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्रको भेडे खोलाबाट यस अघि ३ वटा बँदेल ल्याएर २ वटा मासु खाइसकेको र बाँकी रहेको सो बँदेल फागु पूर्णिमाका मासु खाने प्रयोजनका लागि लुकाई राखेको स्थानीयले बताएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले अवैध ढङ्गले वन्यजन्तुलाई घरमा लुकाई राख्नु गैह्र कानुनी काम भएकोले कानुन बमोजिम कारबाही हुने जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्